मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक
काठमाडाैं | माघ १, २०८१
काठमाडौं: वरिष्ठ मुटुरोग विशेषज्ञ डा राजेन्द्र कोजुको ‘मुटुको कथा’ शीर्षकको कृति सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा आज आयोजित समारोहमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, धुलिखेल अस्पतालका संस्थापक डा रामकण्ठ मकाजु, मुटुरोग विशेषज्ञ डा स्मृति शाक्य, हास्यकलाकार हरिबंश आचार्य र लेखक कोजुले लोकार्पण गर्नुभयो ।
बुक हिलले प्रकाशन गरेको उक्त कृतिमा मुटुको कथा, बा छाति त दुखेको छैन नि रु हत्तेरिक्ता औषधि नै छुट्यो, नूनको आत्मकथा, रक्सी समातेपछि र छाडेपछि, फेरिएको जीवन शैली, स्वस्थ जीवन र प्रार्थनासहित ४१ शीर्षकमा अनुभव, अनुभूति र घटनासम्बन्धी विषयबस्तु समेटिएका छन् ।
कार्यक्रममा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रुइतले तुलनात्मकरुपमा नेपालको स्वास्थ्य क्षेत्र राम्रो रहेको र त्यसमा चिकित्सकहरुले व्यावसायिक धर्म तथा बिरामीप्रति करुणा व्यक्त गर्न सकेमा अझ प्रभावकारी हुने धारणा राख्नुभयो ।
मुटुरोग विशेषज्ञ डा कोइरालाले समाज रुपान्तरणका लागि किताब लेखन र अध्ययनको प्रभाव लामोसमयसम्म रहने उल्लेख गर्दै हामीले व्यतित गरेको जीवनशैली र खानपिनमा सामान्य सुधार गर्न सके राम्रो स्वास्थ्यलाभ लिन सकिने अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “मैले बिरामीलाई सधैँ भन्दै आएको छु, गर्न नहुने भनेको चुरोट नखाने, गर्नैपर्ने भनेको व्यायाम रहेको छ ।”
डा मकाजुले पुस्तक अध्ययनबाट धेरै ज्ञान प्राप्त हुने भएकाले मुटुको कथासम्बन्धी पुस्तकले अध्ययनका लागि थप प्रेरणा प्रदान गर्ने धारणा राख्नुभयो ।
हास्यकलाकार आचार्यले पुस्तकलाई आफूले सबैभन्दा नजिक सिरानीमा राख्ने साथीका रुपमा लिने गरेको हुँदा जन्मोत्सवलगायतका अवसरमा उपहारका रुपमा पुस्तक दिँदा उपयुक्त हुने धारणा राख्नुभयो । डा शाक्यले मुटुको कथासम्बन्धी कृतिमा स्रष्टाले स्वास्थ क्षेत्रमा काम गर्दाको आफ्नो कथा, व्यथा, वास्तविकता, भावनालगायतका विषयबस्तु केही कविता र केही निबन्ध शैलीमा प्रस्तुत गरेको धारणा राख्नुभयो ।
लेखक कोजुले आफूले विभिन्न पत्रपत्रिकामा विभिन्न समय कालखण्डमा लेखिएका लेखहरुबारे उपचार गर्न आउने बिरामी र चिनेका व्यक्तिबाट पाएको प्रतिक्रियाबाट प्रेरित भएर पुस्तक लेख्ने जमर्को गरेको बताउनुभयो ।
उहाँले जीवनको ४० वर्ष चिकित्सासम्बन्धी ज्ञान हासिल गर्ने सिलसिलामा २३ वर्ष मुटु स्वास्थ्यमै केन्द्रित भएर उपचारमा संलग्न हुँदा देखेका, भोगेका विषयबस्तुलाई सरल तरिकाले सर्वसाधारणसम्म पु¥याउन कथा, निबन्ध र स्मरण समेटेर पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

